आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको बडादशैँ आजबाट समापन हुँदै

आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको नेपालीहरुको महान् पर्व बडादशैँ आज आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु