उपचारका क्रममा माडीका बिरामीहरुले निःशुल्क रगत पाउने

उपचारका क्रममा रगतको आवश्यकता परेका माडीका बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन माडी नगरपालिका र नेपाल रक्तसञ्चार केन्द्र भरतपुरबिच आज सम्झौता हुँदैछ । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, बसन्तपुर युनाइटेड क्लब र सिप नेपालको संयुक्त आयोजनामा बसन्तपुरमा सञ्चालित रक्तदान कार्यक्रम उद्घाटन गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो जानकारी दिनुभएको हो ।

सम्झौता अनुसार भरतपुर क्षेत्रमा उपचारको क्रममा रगतको आवश्यकता परेका माडीबासी बिरामीहरुले सम्बन्धित वडा कार्यालयले प्रमाणित गरिदिएको नागरिकताको प्रतिलिपीका आधारमा आवश्यक रगत पाउनेछन् । नाबालक बिरामीहरुको हकमा भने अभिभावकको नागरिकताको प्रमाणित प्रतिलिपीबाट रगत पाउने व्यवस्था हुनेछ । जिल्ला बाहिर उपचार गराउँदा रगत चढाएको अवस्थामा भने नगरपालिकाले त्यसको बील भुक्तान गरिदिने छ । यसबाहेक माडीको बघौंडा अस्पतालमै रक्तसञ्चार केन्द्र स्थापनाको पहल जारी रहेको समेत नगरप्रमुख ढकालले सार्वजनिक गर्नुभयो ।

डेङ्गु रोगको प्रकोप बढ्दै जाँदा चितवनमा सेतो रगतको अभाव बढेको सन्दर्भमा आज रक्तदान कार्यक्रम भइरहेको हो । रेडक्रस बघौंडा उपशाखाका सभापति भागिरथ बस्यालको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेश पौडेल, माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधी, बसन्तपुर बजारबासी र रक्तदाताहरुको समेत सहभागी रहेको छ । कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन आयोजकले सबैमा आह्वान गरेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु