यसपटकको तीजमा माडीमा ‘ओली बाको रेल’ र ‘ढाडे बिरालो’ गुञ्जने

यसपटकको तीजमा माडीको बसन्तपुरमा ‘ओली बाको रेल’ र ‘ढाडे बिरालो’ गुञ्जने भएको छ । आउँदो भदौ १६ गते हरितालिका तीज पर्वको दिन बसन्तपुरमा सञ्चालन हुने वृहत् तीज उत्सव २०७६ मा चर्चित लोकदोहोरी गायिका श्रीदेवी देवकोटाको विशेष तीज एवं लोकदोहोरी प्रस्तुती रहने भएको हो । गायिका देवकोटाको ‘ओली बा को रेल’, ‘ढाडे बिरालो’, ‘गुन्यु चोली लाउ’, ‘चोर बिरालो पल्क्यो’ लगायतका गीतहरु चर्चित एवं लोकप्रीय रहेका छन् ।

तीजको अवसरमा स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै बसन्तपुर बजार व्यवस्थापन समिति, बसन्तपुरका महिला समूह, बसन्तपुर युनाइटेड क्लब, ब्राह्मण समाज माडी लगायतका संघसंस्थाहरुको आयोजनामा तीज उत्सव-२०७६ सञ्चालन हुन लागेको हो । कार्यक्रमलाई स्वदेश एफ.एम.ले फ्रिक्वेन्सी र फेसबुकमार्फत तथा भरतपुरको अभियान टेलिभिजनले श्रृव्यदृश्य प्रसारण गर्नेछ ।

बसन्तपुर बजारको दिवाकर चोकमा सञ्चालन हुने सो तीज उत्सवमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूसंगै माडी डान्स एकेडेमीका कलाकर्मीहरूको समेत सहभागिता रहनेछ । कार्यक्रम व्यवस्थापनका लागि रेडियोले सञ्चारकर्मी अनुष्का विश्वकर्माको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु