माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु

हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु भएका छन् । माडी नगरपालिका वडा नं. ८ को देवीकोटमा नवरात्री पुजा सुरु भएको छ । पुजाको अवसरमा मन्दिर सरसफाई तथा श्रृङ्गार गरी झकिझकाउ बनाइएको छ । देवीकोट पुजा समिति माडी नगरपालिका वडा नं. ८ र जनजागरण महिला समूह, खरकट्टाको संयुक्त आयोजनामा सो मन्दिरमा दशैंको नवरात्री पूजा हुन लागेको हो ।

त्यसैगरी माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीस्थित ऐतिहासिक बाबियो डाँडामा पनि दशैं विशेष दुर्गा भवानीको पुजा सुरु भएको छ । बाबियोडाँडास्थित देविकोट मन्दिरमा नौ दिनसम्म सञ्चालन हुने सो पुजाको व्यवस्थित सञ्चालनका लागि २४ सदस्यीय पुजा व्यवस्थापन समिति गठन गरी पुजाको व्यवस्थापन थालिएको हाे । त्यस्तै, वडा नं. ७ कै कीर्तनपुर देविकोटस्थित कात्यायनी देवीको मन्दिरमा पनि आजबाट दशैँको पुजा अर्चना कार्यक्रम सुभारम्भ भएको छ । मन्दिर परिसरमा दिनभरी पुजा अर्चना गरी साँझमा आरती गरी रात्रीको समयमा भजन कीर्तन हुनेछ ।

दशैंकै सन्दर्भमा माडी नगरपालिका वडा नं. ५, राधापुरस्थित कालिका मन्दिरमा समेत नवरात्री पूजा सुरु भएको छ । गाउँबाट केहि टाढा, सोमेश्वर मध्यवर्ती सामुदायिक बन क्षेत्रमा स्थापित सो मन्दिरबाट माडीका अधिकांश भुभाग देख्न समेत पाइने भएकाले पर्यटकीय गन्तव्यका रुपमा समेत परिचित रहँदै आएको राधापुरस्थित कालीका मन्दिरमा दशैंको अवसरमा विशेष धुमधामका साथ पुजाअर्चना तथा भजनकीर्तन सुरु भएको हो । त्यसैगरी माडीका अन्य दुर्गा मन्दिरहरुमा समेत नवरात्रीको पुजा अर्चना थालिएको देखिएको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु