ठोरी गाउँपालिकाद्वारा बगहीँ अमुवा जाेड्ने निकुञ्ज भित्रकाे बाटो मर्मत सुरु

ठोरी गाउँपालिकाद्वारा आइतबार देखि बगहीँ अमुवा सडकखण्ड अन्तर्गतको निकुञ्ज क्षेत्रमा बाटो मर्मत कार्य सुरु भएको छ । माडी उपत्यकालाई ठोरीसंग जोड्ने सडक खण्डका रुपमा रहेको सो सडक हुँदै नारायणगढ माडी ठोरी रुटका रात्री र दिवा सेवा गरी दैनिक दुई दर्जन बढी यात्रुवाहक बस चल्ने गरेका भएपनि लामो समयदेखि बाटो बिग्रिएको अवस्था थियो ।

माडी नगरपालिकाले जंगल क्षेत्रको सडक स्तरोन्नति गर्ने अपेक्षा गरिएपनि त्यसो हुन नसकेपछि ठोरीका जनताको आग्रहमा ठोरी गाउँपालिकाले सडक मर्मतका लागि चासो देखाएको प्रवक्ता रामप्रकाश कुँवरले बताउनुभयो । सडक नराम्ररी बिग्रीएकाले मुख्य चाडपर्वको समयमा आवत जावतमा समेत असर पर्न सक्ने भएकाले तत्काल सडक मर्मत सुरु गरिएको उहाँले बताउनुभयो । प्रदेश २ र ३ लाई जोड्ने सडकखण्डको रुपमा रहेको झण्डै १९ किलोमिटर सडकको स्तरोन्नति कार्य आइतवार विहान देखि सुरु भएको हो ।

ठोरीको चौतारादेखि सडकको स्तरोन्नति सुरु गरिएको हो । ठोरी गाउँपालिकाको एउटा डोजर, २ ओटा ट्रिपर र १ ओटा ट्रयाक्टरको प्रयोग गरी सडकको स्तरोन्नति थालिएको ठोरी गाउँपालिकाले जनाएको छ ।

यसैबिच, बाँदरझुलामा बाटो निर्माण कार्य तीब्र गतिमा अगाडी बढेको छ । हाल ठोरीको चौतारादेखि बाँदरझुला जोड्ने बाटो मर्मत गरिँदैछ । आउँदो तीन दिनभित्र सो खण्डको निर्माणकार्य पुरा हुने बाँदरझुला बाटो निर्माण समितिका सचिव तथा हाम्रा सहकर्की मोहन स्याङतानले बाँदरझुलाबाट जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु