बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु

बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बिहिबार दिउँसोदेखि हराइरहेको अवस्थामा राईलाई खोज्दै जाँदा स्थानीयबासीले आज विहान ११ बजे गोविन्देश्वर सामुदायिक वनमा फेला पारेको ईलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । मृतक राईको टाउको र बायाँ खुट्टा समेत बाघले लगेको प्रहरीले बताएको छ । बाघको आक्रमणबाट हताहती भएपछि आज दिनभर अयोध्यापुरी क्षेत्र शोकमग्न रह्यो । अति बिपन्न परिवारका राईको मृत्युसंगै उहाँको परिवार बिक्षिप्त बनेको छ । मृतक राइलाई पोष्टमार्टमका लागि भरतपुर पठाइएको र पोष्टमार्टमपश्चात माडीमै उहाँको अन्तिम संस्कार गरिने परिवार श्रोतले जनाएको छ ।

यसैबिच, मान्छेलाई आक्रमण गरेको बाघले पुनः मान्छेलाई आक्रमण गर्न सक्ने भएकाले बाघलाई नियन्त्रणमा लिन तत्काले चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली परिचालन भएको छ । क्यामेरा ट्रयापिङ सहितको प्राविधिक टोली आज साँझपख माडी आइपुगेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । मृतकको परिवारलाई क्षतीपूर्ति दिलाउने प्रक्रिया सुरुवात गरिएको र तत्कालका लागि काजक्रियाका लागि उपभोक्ता समितिबाट पच्चीस हजार उपलब्ध गराइने उहाँको भनाई थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु